चालु आर्थिक वर्षको पहिलो महिना नै सुन आयात बढेको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा दुई सय केजी सुन आयात भएको हो। गत वर्ष सोही अवधिमा १५६ केजी सुन आयात भएको थियो। गत वर्षभन्दा २८.२० प्रतिशत बढी हो।
अन्तर्राष्ट्रिय बजारमा सुन महँगिए सँगै त्यसको भ्यालु समेत बढेको छ। साउनमा मात्रै नेपालले एक अर्ब ६५ करोड रुपैयाँ बराबरको सुन आयात गरेको छ। आयात बढे सँगै सरकारले प्राप्त गर्ने राजस्व समेत ८७ प्रतिशतले बढेको छ।
साउनमा मात्रै सरकारले सुन आयातबाट २४ करोड ८० लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ। गत वर्ष सोही अवधिमा सरकारले १३ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।