काठमाडौं | खोटाङको एउटा दुर्गम गाउँमा बाल्यकालमा देखेको छिमेकीबीचको सानो–सानो ऐँचोपैँचो आज भारतको वित्तीय राजधानी मुम्बईमा अर्बौं रुपैयाँको डिजिटल वित्तीय प्रणालीमा रूपान्तरण भएको छ।
३८ वर्षीय नेपाली युवा दिपेश कार्की अहिले दक्षिण एसियाकै सबैभन्दा ठूलो पियर–टु–पियर (P2P) डिजिटल ऋण प्लेटफर्म 'लेनदेन क्लब' का सह–संस्थापक तथा सह–सञ्चालक हुन्। उनले निर्माण गरेको यो डिजिटल बजारले पछिल्लो एक दशकमा १९ हजार करोड भारतीय रुपैयाँ (करिब ३ खर्ब नेपाली रुपैयाँ) बराबरको ऋण सहजीकरण गरिसकेको छ।
कम्पनीका अनुसार प्लेटफर्ममार्फत हालसम्म तीन करोडभन्दा बढी व्यक्तिले ऋण लिएका छन् भने ४४ लाखभन्दा बढी लगानीकर्ताले ऋण दिएका छन्। वार्षिक रूपमा मात्रै करिब ६० अर्ब भारतीय रुपैयाँ बराबरको ऋण कारोबार यसै प्लेटफर्ममार्फत हुने गरेको छ।
डिजिटल वित्तीय सेवामा उल्लेखनीय योगदान पुर्याएको लेनदेन क्लब भारतको P2P लेन्डिङ बजारको सबैभन्दा ठूलो खेलाडीका रूपमा स्थापित भएको छ।
'ऋण विकासको खुड्किलो हो'
नेपालमा "जिन्दगीमा ऋण नलागोस्" भन्ने परम्परागत धारणा प्रचलित छ। तर दिपेश कार्की यसलाई विकासको बाधक मानसिकता मान्छन्।मुम्बईबाट गरिएको विशेष कुराकानीमा उनले भने,"सबै मानिस धनी परिवारमा जन्मिँदैनन्। सबैसँग सपना पूरा गर्न पुर्ख्यौली सम्पत्ति हुँदैन। ऋण भनेको जीवनमा माथि उक्लिन प्रयोग गरिने एउटा खुड्किलो हो।"उनका अनुसार विकसित मुलुकहरूमा ऋणलाई आर्थिक अवसरका रूपमा हेरिन्छ। शिक्षा, व्यवसाय, घर तथा व्यक्तिगत विकासका लागि त्यहाँका नागरिकले सहज रूपमा ऋण प्रयोग गर्ने संस्कृतिले नै आर्थिक विकासलाई गति दिएको छ।
खोटाङको गाउँबाट सुरु भएको प्रेरणा
दिपेशको सफलताको कथा मुम्बईमा लेखिए पनि यसको जरा खोटाङ जिल्लाको हौंचुर गाउँमा गाडिएको छ।उनका बाबु–आमा दुवै सरकारी विद्यालयका शिक्षक थिए। गाउँमा बैंक नपुगेको समयमा आर्थिक अभावमा परेका गाउँलेहरू प्रायः उनीहरूको घरमा सानो रकम सापटी लिन आउँथे।
सानैदेखि त्यो प्रक्रिया नजिकबाट देखेका दिपेश कहिलेकाहीँ आमाले पठाउँदा ऋणको किस्ता उठाउन आफैं गाउँघर पुग्थे।
त्यही अनुभवले उनलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनायो— यदि प्रविधिको माध्यमबाट यस्ता लाखौं मानिसलाई जोड्न सकियो भने?
वर्षौंपछि यही प्रश्नको उत्तर 'लेनदेन क्लब' बनेर संसारसामु आयो।
पाइलट बन्ने सपना, इन्जिनियर हुँदै उद्यमी
विराटनगरमा विद्यालय शिक्षा पूरा गरेका दिपेशको पहिलो सपना पाइलट बन्ने थियो। तर आर्थिक सीमितताले त्यो सपना पूरा हुन सकेन।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इच्छाएको विषय नपाएपछि उनले छात्रवृत्तिको खोजी थाले र अन्ततः भारतको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी (NIT), कुरुक्षेत्रमा इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियरिङ अध्ययन गर्ने अवसर पाए।
सन् २०११ मा अध्ययन पूरा गरेपछि अमेरिका जाने अवसर हुँदाहुँदै उनले भारतमै करिअर बनाउने निर्णय गरे।
"भारतको तीव्र आर्थिक विकासले यहाँ सम्भावनाहरू धेरै देखेँ। नेपाल नजिक भएकाले परिवारसँग पनि सम्बन्ध कायम राख्न सहज थियो," उनले भने।
त्यही निर्णयले उनलाई अन्ततः दक्षिण एसियाको सबैभन्दा ठूलो डिजिटल ऋण बजार निर्माण गर्ने यात्रामा पुर्यायो।
भूकम्पले बदलिदियो जीवनको दिशा
सन् २०१५ को विनाशकारी भूकम्पपछि दिपेश नेपाल फर्किए। गोरखाका प्रभावित गाउँहरूमा स्वयंसेवक बनेर पुनर्निर्माणमा सक्रिय भए।
त्यही अनुभवले उनलाई प्रत्यक्ष रूपमा समुदायको जीवनमा प्रभाव पार्ने व्यवसाय निर्माण गर्न प्रेरित गर्यो।
त्यसपछि उनले भारत फर्केर सहकर्मी भाविन पटेलसँग मिलेर स्थापना गरे— 'लेनदेन क्लब'।
आज यो प्लेटफर्मले लाखौं मानिसलाई बैंकको झन्झटबिना सानो–ठूलो ऋण उपलब्ध गराउँदै आएको छ।
कारोबार डेक्स