पहिलोपटक विश्वकपमा सहभागी भएको अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो ऐतिहासिक यात्राको अन्त्य गरे पनि विश्व फुटबलमा अविस्मरणीय छाप छाडेको छ। फिफा वरीयताको ६४औँ स्थानमा रहेको टोलीले साविक विश्वविजेता तथा विश्व नम्बर–२ अर्जेन्टिनालाई अन्तिम समयसम्म कडा चुनौती दिँदै विश्वभरका फुटबल समर्थकको मन जितेको हो।
शनिबार बिहान सम्पन्न रोमाञ्चक नकआउट खेलमा अर्जेन्टिनाले ३–२ को कठिन जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गर्यो। तर जित अर्जेन्टिनाको पक्षमा गए पनि खेलभर केप भर्डले देखाएको साहस, आत्मविश्वास र उत्कृष्ट प्रदर्शन नै चर्चाको केन्द्र बन्यो।
खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेसीले शानदार गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा डेरोय दुआर्टेले बराबरी गोल फर्काएर केप भर्डलाई खेलमा फर्काए। अतिरिक्त समयमा लिसान्ड्रो मार्टिनेजले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि १०३औँ मिनेटमा सिड्नी लोप्स काब्रालले आकर्षक गोल गर्दै खेललाई फेरि २–२ को बराबरीमा पुर्याए।
खेल पेनाल्टी सुटआउटतर्फ अघि बढिरहेको अवस्थामा १११औँ मिनेटमा केप भर्डका खेलाडीबाट भएको दुर्भाग्यपूर्ण आत्मघाती गोल अर्जेन्टिनाको जितको आधार बन्यो। त्यसपछि पनि केप भर्डले बराबरीको प्रयास जारी राखे पनि सफल हुन सकेन।
प्रतियोगिताभर केप भर्डले आफ्नो क्षमता प्रमाणित गर्यो। समूह चरणमा उसले साउदी अरेबियालाई हराउनुका साथै युरोपेली च्याम्पियन स्पेन र दुई पटकको विश्वविजेता उरुग्वेसँग बराबरी खेल्दै सबैलाई चकित बनाएको थियो। उरुग्वेको समूह चरणबाटै बहिर्गमनमा पनि केप भर्डको प्रदर्शन निर्णायक बन्यो।
केप भर्डका ४० वर्षीय गोलकिपर भोजिन्हा प्रतियोगिताका सबैभन्दा चर्चित खेलाडीमध्ये एक बने। उनले स्पेनविरुद्ध सात तथा अर्जेन्टिनाविरुद्ध आठ उत्कृष्ट बचाउ गर्दै कुल १८ बचाउ गरे। अनुभव र आत्मविश्वासले भरिएको उनको प्रदर्शनले विश्वभरका फुटबल समर्थकको प्रशंसा बटुल्यो।
खेलपछि केप भर्डका प्रशिक्षक बुबिस्टाले आफ्नो टोलीप्रति गर्व व्यक्त गर्दै सानो राष्ट्रले पनि विश्वका उत्कृष्ट टोलीसँग बराबरीको प्रतिस्पर्धा गर्न सक्ने प्रमाणित गरेको बताए। डिफेन्डर रोबर्टो ‘पिको’ लोपेसले भने यस विश्वकपपछि केप भर्डले विश्व फुटबलको नक्सामा आफ्नो स्थायी पहिचान बनाएको प्रतिक्रिया दिए।
इङ्ल्यान्डका पूर्वडिफेन्डर ग्यारी नेभिलले अर्जेन्टिनाविरुद्ध केप भर्डको प्रदर्शनलाई साना टोलीबाट देखिएको उत्कृष्ट प्रदर्शनमध्ये एकको संज्ञा दिए। पूर्वस्ट्राइकर इयान राइटले पनि यस्ता साना राष्ट्रलाई थप अवसर र सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
पहिलो विश्वकप सहभागितामै केप भर्डले देखाएको साहस, अनुशासन र उत्कृष्ट प्रदर्शनले विश्व फुटबलमा नयाँ कथा लेखेको छ। उपाधि जित्न नसके पनि उसले करोडौं समर्थकको मन जित्दै भविष्यमा अझ ठूलो उपलब्धि हासिल गर्न सक्ने स्पष्ट संकेत दिएको छ।
कारोबार डेक्स