बिहीबार , कार्तिक २० गते २०८३

केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग

  • 175
    SHARES
  • माघ २३, २०८० मंगलबार
    केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग

    नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

    मंगलवार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो ।

    महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रुपमा नेपाल भित्र नभित्रने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरूको अर्बौँ रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो ।

     

    महासंघले व्यवसायीहरूलाई सहज रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरू मात्रै जान पाउने सिन्डिकेट हटाएर सबै व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताए ।

    उनले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायीहरू आफैँ जान नपाउँदा व्यवसायीहरू समस्यामा रहेको बताए । उनले चीनबाट आयात हुने सामानहरू नाकामा फुट्ने, लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायीहरू नाका पारी जान नपाउने बताए ।

    उनले समान ढुवानी गर्न, ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय सवारी साधन लैजानुपर्ने एकाधिकार हटाउन माग गृहमन्त्रीसँग गरिएको उल्लेख गरे । उनले चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको बताए । अध्यक्ष कार्कीले गृहमन्त्रीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

    महासंघ उपाध्यक्ष लक्ष्मी खड्काले काठमाडौंमा व्यापार व्यवसाय गरिरहेका ७५ जिल्लाका व्यवसायीहरूले चीनबाट आयात गरेका सामान नाकामा उपस्थित भएर ल्याउनको लागि समस्या भएको बताए । उनले सरकारले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गरी नाका पारी जान पाउने व्यवस्था गर्न गृहमन्त्रीसँग माग गरिएको बताए ।

    उनले चीनबाट अर्बौँ रुपैयाँ लगानी गरेर आयात गरेको सामान ल्याउनको लागि आफैँ जान पाउनुपर्ने बताए । उनले गृहमन्त्रीले व्यवसायीहरूको मागलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाले सरकारले माग सम्बोधन गर्ने अपेक्षा रहेको बताए ।

    नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीहरूले मात्रै नाकापारी जान पाउने व्यवस्था रहेको भन्दै त्यसलाई अन्य व्यवसायीहरूलाई पनि अस्थायी पासको व्यवस्था गरी आवतजावत गर्न माग गरिएको बताए । उनले चीनबाट आयात गरिएको सामान व्यवसायीहरूले हेर्न र लिन जान नपाएको बताए । उनले २०१६ सालमा चीनसँग भएको पारवहन सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने बताए ।

    व्यवसायीहरूले चीन नाकामा रहेका भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले भन्सारमा सहज बनाउन र नाकामा सामान सहज रुपमा नेपालमा ल्याउने व्यवस्था गर्न बारम्बार ध्यानाकर्षण गर्दा समेत नभएको बताएका छन् । उनीहरुले रसुवा नाकामा सुख्खा बन्दरगाह तत्काल सञ्चालनमा ल्याउन समेत माग गरेका छन् ।

    ताजा अपडेट