काठमाडौं, ११ जेठ । गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले समारोहमा आफूले सम्बोधन नगरी राष्ट्रपतिबाट सम्बोधन गराइदिन अनुरोध गर्दै राष्ट्रपति कार्यालयलाई औपचारिक पत्राचार गरिसकेका छन् ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहने परम्परा छ । सो अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने अभ्यास रहँदै आएको छ ।
तर प्रधानमन्त्री बनेयता सार्वजनिक समारोहहरूमा कमै देखिएका बालेन शाह यसपटकको गणतन्त्र दिवस समारोहमा पनि सम्बोधनबाट अलग रहने भएका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णय तथा संविधानको व्यवस्थाअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई नै मुख्य सम्बोधन गर्न आग्रह गरिएको हो ।
संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । सोही धाराको उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा राष्ट्रपतिले कार्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । यही आधारमा यस वर्ष गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ ।