खोटाङ, जेठ ५ । खोटाङको सदरमुकाम दिक्तेलमा हिमालयन आइटी इन्स्टीच्युटको आयोजनामा फोटोग्राफी तथा भिडियोग्राफी आधारभुत तालिम सुरु भएको छ । हिमालयन आइटी इन्स्टीच्युटको दिक्तेलस्थित कार्यालयमा आयोजना गरिएको तालिम शनिबार उद्घाटन गरिएको छ ।
एभरेष्ट फिल्म एकेडेमीको प्राविधिक एवं घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा हिमालयन आइटी इन्स्टीच्युट, दिक्तेलले १० दिने तालिम आयोजना गरेको हो । तालिममा फोटोसँग सम्वन्धित व्यवसायी, पत्रकार तथा डिजिटल प्लेटफर्ममा चासो राख्ने युवा सहभागी छन् । युवालाई सीप सिकाएर स्वरोजगार बनाउँदै विदेश जानबाट रोक्ने उद्धेश्यसहित तालिम आयोजना गरिएको हिमालयन आइटी इन्स्टीच्युटका सञ्चालक अजय बस्नेतले बताए । तालिमका लागि घरेलु तथा साना उद्योग कार्यालयले डेढ लाख रकम सहयोग गरेको छ ।
तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, एभरेष्ट फिल्म एकेडेमीका सञ्चालक एबं चर्चित कलाकार सुनिल थापा, वरिष्ठ छायांकार गौरी शंकर धुजु लगायतको उपस्थिति रहेको थियो । तालिमकै दौरान कलाकार थापा दिक्तेल आइपुगेका हुन् ।