बुधबार, कार्तिक १९ गते २०८३

खुसी हुने अवस्था छैन, मुलुक गहिरो आर्थिक मन्दीमा जाँदैछ : पूर्व अर्थमन्त्री खतिवडा

  • 146
    SHARES
  • माघ २५, २०८० बिहीबार
    खुसी हुने अवस्था छैन, मुलुक गहिरो आर्थिक मन्दीमा जाँदैछ : पूर्व अर्थमन्त्री खतिवडा

     पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताएका छन् । उनले मंगलबार नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको मुलुकको वर्तमान आर्थिक परिसूचकमा विदेशी मुद्रा सञ्चिति र विप्रेशण (रेमिट्यान्स) मा वृद्धि भएको तथ्याङ्कलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने बताएका हुन् ।

    पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र र वाह्य क्षेत्र मध्ये अहिले राम्रो भएको वाह्य क्षेत्र मात्रै भएको दाबी गरे । उनले वाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक रुपमा अर्थतन्त्रमा सुधार नआएको भन्दै सरकारले अर्थतन्त्र लयमा आयो भनेर भन्नु धर्म निर्वाह गर्नु मात्रै भएको टिप्पणी गरे । सरकारको आन्तरिक खर्च, वित्तीय प्रणालीमा हुने खर्च र उत्पादन वृद्धि नहुँदा वाह्य क्षेत्रबाट हुने मागमा कमी हुँदा विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको उनको भनाई छ ।

    उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र गरी तीनवटा क्षेत्रमा आएको मन्दी र समस्याको परिणाम स्वरुप चौथो वाह्य क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको खतिवडाले बताए । उनले दुई वर्षको बीचमा निर्यात ४० प्रतिशतले घटेको भन्दै चालु आर्थिक वर्ष सकिँदा अढाई वर्ष अगाडिको भन्दा निर्यात आधा हुने अवस्था देखिएको बताए । पूर्वअर्थमन्त्री खतिवडाले वैदेशिक रोजगारीमा हरेक वर्ष ८ लाख नेपाली युवाहरु जाने र पछिल्लो दुई वर्षमा १५ लाख युवाहरु विदेश गएकोले उनीहरुले पठाएको रेमिट्यान्सको कारण विदेशी मुद्राको सञ्चिति बढेको बताए । उनले पर्यटकको आगमन वृद्धि भयो भन्दैमा पनि सरकारले सन्तुष्टि लिन नमिल्ने पनि बताए । पर्यटकहरुले खर्च गर्ने र लगानीको भएको लाभलाई हिसाव नगरी आम्दानीको कुरा गर्नुको अर्थ नहुने उनको तर्क छ ।

    डा. खतिवडाले निर्माण क्षेत्र नकारात्मक रुपमा प्रभावित भएको र आयात कम भएपछि ढुवानी तथा यातायात व्यवसाय अवरुद्ध रहेको बताए । चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने बताए । अघिल्लो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएको भए अहिले ४ प्रतिशतको वृद्धि ठिक मान्न सकिने उल्लेख गरेका छन् । सरकारको राजश्व चालु आर्थिक वर्षमा ३ देखि ४ खर्बले कम हुने संकेत रहेकोले पनि देश गहिरो आर्थिक मन्दिमा जाने बताए । उनले १४ खर्ब २२ अर्ब राजश्व संकलन गर्ने सरकारको लक्ष्य भएपनि ११ खर्ब पनि राजश्व उठाउन मुस्किल रहेको बताए । वित्तीय प्रणालीमा खराब कर्जा बढ्दै जाँदा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा रहेको उनको दाबी छ ।

    ताजा अपडेट