बुधबार, कार्तिक १९ गते २०८३

चौधरी पक्राउप्रति व्यवसायीहरू भन्छन्- दोषी प्रमाणित नभई धरपकडशैलीमा पक्राउ गर्नु गलत हो

  • 120
    SHARES
  • माघ १८, २०८० बिहीबार
    चौधरी पक्राउप्रति व्यवसायीहरू भन्छन्- दोषी प्रमाणित नभई धरपकडशैलीमा पक्राउ गर्नु गलत हो

    निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ । 

    परिसंघले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो । परिसंघले चौधरी नेपालका एक प्रतिष्ठित उद्यमी भएको र देश छाडेर नभाग्ने भएपनि सरकारले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरिनु निजी क्षेत्र माथिको प्रहार भएको बताएका छन् ।

    पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंकाकै भरमा पक्राउ गर्नु न्यायसंगत नभएको बताए । उनले उद्योगपति चौधरी देशबाहिर भागेर जाने अवस्था समेत नरहेको अवस्थामा हठात पक्राउ गर्नु गलत भएको उल्लेख गरे । उनले प्रहरीले चौधरीलाई बोलाएर सोधपुछ गर्न सकिने अवस्थामा बिना कुनै सूचना पक्राउ गरिएकोले प्रक्रियामा नै परिसंघको आपत्ति रहेको बताए ।

    उनले सरकार चौधरीलाई पक्राउ गरेर एक प्रतिष्ठित व्यवसायीको मानमर्दन गरेको बताए । अध्यक्ष अग्रवालले सूचना दिएर बोलाएर सोधपुछ पछि दोषी देखिए मात्र पक्राउ गर्नुपर्नेमा आफ्नो कुरा राख्ने अवसर समेत नदिई पक्राउ गर्नु गलत भएको बताए । अग्रवालले प्रहरीले व्यवसायीमाथि अनुसन्धान गर्न पाएपनि धरपकड गर्न नहुने बताए । अध्यक्ष अग्रवालले दोषी सावित नभएसम्म व्यवसायीलाई थुनामा राख्न नहुने धारणा राखे ।

    उनले भने,‘ सीआईबीले बोलाएको भए आफैँ जानुहुन्थ्यो । अनुसन्धानलाई सहयोग गर्नुहुने थियो । पक्राउ गरेको छ, तर दोषी प्रमाणित भएको छैन । हठात पक्राउ गर्दा प्रतिष्ठित उद्योगी व्यवसायीको मान प्रतिष्ठामा आँच आएको छ । सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज दिउँसो हठात रुपमा पक्राउ गरेको यहाँहरू सबैलाई अवगत भइसकेकै छ । यो पक्राउ अघि न प्रहरीले कुनै सूचना दिएको थियो, न त अनुसन्धानका लागि बोलाएको नै थियो । अरुण चौधरी यो देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी हुनुहुन्छ, उहाँ देश छोडेर कतै जान लाग्नुभएको थिएन । तर आज राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको छ । यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ । यसले सम्पूर्ण उद्योगी–व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौ ।’

    नेपाल उद्योग परिसंघका निःवर्तमान अध्यक्ष विष्णु अग्रवालले दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई थुनामा राख्न नहुने बताए । उनले उद्योगी व्यवसायीलाई प्रहरीले बोलाएर सोध्ने हो भने सबै जवाफ दिन तयार भएपनि सरकारले त्यो अवसर समेत नदिएको बताए । उनले आशंकाकै भरमा थुन्ने काम गर्दा निजी क्षेत्र हतोत्साहित हुने दाबी गरे । उनले भाग्ने सम्भावना नभएका व्यवसायीलाई पक्राउ गर्नु गलत भएको बताए ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सबैतिरबाट आक्रमण भइरहेको बताए । उनले निजी क्षेत्रलाई यसरी समस्यामा पर्ने हो भने निजी क्षेत्र हतोत्साहित हुने उल्लेख गरे ।

    उनले व्यवसायीहरूलाई धरपकड गर्ने हो भने निजी क्षेत्रले राम्रोसँग काम गर्न नसक्ने बताए । उनले सरकारको यस्तो कदमले सबै निजी क्षेत्रलाई दुःखी तुल्याएको पनि बताए । अध्यक्ष कार्कीले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।

    व्यवसायीहरुले चौधरी पक्राउ घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपध्येयीतालाई उपेक्षा गरेको हो कि भन्ने सोच्न आफूहरूलाई बाध्य बनाएको बताए ।

    उनीहरूले सरकारले एकातिर ठुलो महत्वकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ समानान्तररुपमा उद्योगी व्यवसायीहरूमाथि धरपकडको डन्डा बर्साइरहने हो भने विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने अवस्था सिर्जना भएको तर्क गरेका छन् ।

    व्यवसायीहरुलेसरकारको यस्तो कदमले लगानीको वातावरण बिथोल्नेबाहेक काम गरेको उल्लेख गरे । उनीहरूले कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा आफूहरूको विमति नभएको पनि बताए ।

    ताजा अपडेट