नेपाल वायुसेवा निगमले पछिल्ला तीन वर्षमा आम्दानी १ सय ४४ प्रतिशतले बढाएको छ।
महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन अनुसार निगमको गत आर्थिक वर्ष २०७९र८० मा आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ पुगेको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आव २०७७र७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ४५ रुपैयाँ आम्दानी थियो भने आव २०७८र७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको छ। विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा जहाज उडानमा रहेका छन्।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको र निगम बिस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको निगमका प्रवक्ता पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकोले यसतर्फ आवश्यक कार्ययोजना बनाइ अगाडि बढ्ने कार्य भइरहेको निगमको दाबी छ।