बिहीबार , कार्तिक २० गते २०८३

एनसेलको सेयर खरिद बिक्री बारे छानबिन समितिले काम थाल्यो

  • 119
    SHARES
  • मंसिर २१, २०८० बिहीबार
    एनसेलको सेयर खरिद बिक्री बारे छानबिन समितिले काम थाल्यो

    सरकारले एनसेलको सेयर खरिद बिक्री विवादबारे छानबिन गर्न गठन गरेको  समितिले काम सुरु गरेको छ। समितिका संयोजक टंकमणि शर्मा दंगालले आजैदेखि छानबिनको काम अघि बढाएको बताए। 

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरेको हो। 

    सरकारले जिम्मेवारी दिएलगतै सिंहदरबार पुगेका संयोजक दंगालले सरकारले दिएको निर्धारित समयभित्र काम सम्पन्न गर्न समितिले आजैदेखि काम अघि बढाएको बताए। 

    आज समितिको कार्यालय व्यवस्थापन लगायत काम अघि बढाएको छ। 

    मन्त्रिपरिषद्को बैठकले समितिलाई एनसेलको सेयर खरिद बिक्री विवादबारे अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।

    पूर्व महालेखा परीक्षक शर्माको संयोजकत्वमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् ।

    नेपालमा सञ्चालित दूरसञ्चार सेवा एनसेल आजियटाले सतीशलाल आचार्य सञ्चालक रहेको स्पेक्ट्रलाइट यूके कम्पनीलाई ८० प्रतिशत शेयर बिक्री गरेको खुलेपछि विवाद उत्पन्न भएको छ । ६ खर्बमा शेयर बिक्री भएको भनिए पनि ५ सय मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ६६ अर्ब हाराहारीमा बिक्री भएको कुरा आएपछि संसदीय समितिहरू तथा सरकारले यो विषयमा चासो दिएको छ ।

    शेयर खरिद बिक्रीमा न्यून रकम मूल्याङ्कन, विदेशमा शेयर खरिद बिक्री गरी नेपाललाई दिनुपर्ने पुँजीगत लाभकर छल्न खोजिएकोले आशंका बढाएको भन्दै संसदको अर्थ समिति र सार्वजनिक लेखा समितिले शेयर खरिद बिक्री स्थगित गराउन सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको संसदीय समितिले यसबारेमा छानबिन गर्नका लागि सरकारलाई निर्देशन दिनुका साथै दूरसञ्चार सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

    संसदीय समितिमा सांसदहरूले एनसेलको शेयर खरिद बिक्रीमा माफियाहरू मिलेर चलखेल गरी कर छल्ने र सन २०२९ पछि एनसेल कम्पनी नेपालको स्वामित्वमा आउने अवस्था रोक्न खोजेको भन्दै उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका थिए ।

    संसदको सार्वजनिक लेखा समितिले अनुसन्धान पूरा नगरुञ्जेल एनसेलको कारोबार रोक्का गर्न समेत सरकारलाई निर्देशन समेत दिएको थियो । संसदीय समितिले निर्देशन दिएको भोलीपल्ट मन्त्रीपरिषद्को बैठक राखेर सरकारले ५ सदस्यीय छानबिन समिति बनाएको हो ।

    ताजा अपडेट